मेरो अखबार
बाँके । बाँकेको नेपालगन्जमा लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ । शनिबार नेपालन्ज युनिटीले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २० मा निःशुल्क चेकजाँचसहित औषधि वितरण गरेको लाइन्स क्लब अफ नेपालगन्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी गराएकी हुन् ।
शिविरमा गाइने, बालबालिका, नाक, कान, घाटी तथा जनरल चेकजाँच भएको अध्यक्ष चर्तीमगरले बताइन् ।
शिविरमा नाक, कान घाटी विशेषज्ञ डा. अन्शु शर्मा, गाइने विशेषज्ञ डा. पुनम आचार्य, फिजिसियन डा. शंकर केसी र बालरोग विशेषज्ञ डा. समिर माहासयलगायत ११ जना स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको थियो ।
नेपालगन्ज युनिटीले आयोजना गरेको शिविरमा ३ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्ये ३ जनामा स्वास्थ्य समस्या देखिएकाले लाइन्स क्लबको सहकार्यमा उनीहरुलाई अस्पतालमा रिफर गरिएको अध्यक्ष चर्तिमगर ले बताइन् ।
शिविरमा बालबालिका धेरै सहभागी रहेको र महिलाहरुमा पाठेघर सम्बन्धी समस्या धेरै देखिएको चर्तीमगरले बताइन् । मगरले वडा नम्बर २० मा फेरि अर्को चरण पनि स्वास्थ्य शिविर नेपालगन्ज कमिटीले छिट्टै संचालन गर्ने बताइन् ।
मेरो अखबार । २५ चैत्र २०७९, शनिबार १९:११