जमुनाहमा तस्करीको निद्रा हराम

सामान बरामद गरिएका एक व्यक्तिले भने, ‘मैले सशस्त्र प्रहरीलाई एक सय रुपैयाँ हात पार्दिँदा पनि लिन मानेनन् ।’ पहिला सय/५० रुपैयाँमा सामान भित्र्याउन पाएको भन्दै उनले भने, ‘म त अचम्ममा परेँ ।’

नेपालगन्ज । नेपाल-भारत सीमा क्षेत्रबाट हुने तस्करीका लागि सशस्त्र प्रहरीले कडाइ गरेको छ । मुख्य नाका जमुनाहमा सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका लागि चेकजाँचमा कडाइ गरेको हो ।

सीमा क्षेत्रमा तस्करी मौलाउँदै गएको आरोप थियो । मेरो अखबार टिम आइतबार जमुनाह नाकामा स्थलगत निरीक्षणका लागि पुगेको थियो । जहाँ सयौं नागरिक सीमा क्षेत्र रुपैडिया किनमेलका लागि आवतजावत गरिरहेका थिए । सामान्य घरायशी सामानबाहेक सीमा क्षेत्रबाट हुने तस्करीलाई सशस्त्र प्रहरीले निगरानी गरेको थियो । कपडा, दैनिक उपभोग्य सामग्रीलगायतका सामान सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बरामद गरेको थियो । ‘पछिल्लो समय सीमा क्षेत्रमा धेरै कडाइ भएको छ,’ सामान बरामद गरिएका एक व्यक्तिले भने, ‘मैले सशस्त्र प्रहरीलाई एक सय रुपैयाँ हात पार्दिँदा पनि लिन मानेनन् ।’ पहिला सय/५० रुपैयाँमा सामान भिœयाउन पाएको भन्दै उनले भने, ‘म त अचम्ममा परेँ । पहिला पैसा दिँदा सामान भिœयाउन पाइन्थ्यो । अहिले त प्रहरीले जफत नै गरिदियो ।’

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका लागि चेकजाँचमा कडाइ गरेसँगै तस्करी न्यूनीकरण हुँदै गएको छ । सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका लागि कडाइ गरेपछि स्थानीय खुसी भएका छन् । उनीहरुले यसलाई निरन्तरता दिनुपर्ने बताए ।