नेपालगन्ज । जानकी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा सञ्चालित एक कार्यक्रममा सहभागी भइ पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी कार्यालय फर्किँदै थिए । बाटोमै रहेको जनसहयोग आधारभूत विद्यालयमा उनी स्थलगत निरीक्षणमा छिरे । उनी उक्त विद्यालयमा जाँदा विद्यार्थीका लागि न त शुद्ध खानेपानीको व्यवस्था थियो न शौचालयमा सरसफाइ थियो ।
विद्यार्थीले पानीको समस्या झेल्दै आएको प्रत्येक्ष देखेपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीले विद्यालयमा पानीको व्यवस्था तत्काल समाधानको लागि पहल गरेका छन् । विद्यालयमा तीनवटा धारा, ट्यांकी र शौचालय सरसफाइका लागि उक्त विद्यालयमा काम सुरु भएको छ । ‘शिक्षा आर्जन गर्ने थलोमै विद्यार्थीलाई समस्या देखिएन,’ प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने, ‘अहिले तत्काल समस्या समाधान गर्न लागिएको । आसा छ समस्या समाधान भएपछि विद्यार्थीहरुले सहज शुद्ध खानेपानी पिउन पाउने छन् ।’
डाँगी जानकीमा आएपछि कामलाई तिव्रता दिएका छन् । निर्माण कार्य रोकिएको गाउँपालिकाको भवन सुरु भएको छ । केही महिनादेखि काम रोकेर ठेकदार कम्पनी बेखबर भएका थिए । उनलाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि पुनः भवन निर्माणको कामले पुणर्ता पाएको छ ।
मेरो अखबार । २२ भाद्र २०७९, बुधबार १०:५५